नेपाल सरकार
कृषि व्यवस्थापन सूचना प्रणाली
मध्य बानेश्वर, काठमाडौँ, नेपाल

अध्यावधिक मिति : २०१७-०३-०२

नेपालमा कृषि क्षेत्रको योगदान कूल गार्हस्थ उत्पादनको एक तिहाइ भन्दा बढी रहेको र दुई तिहाई भन्दा बढी जनसंख्या रोजगारी तथा जीविकोपार्जनको लागि कृषि क्षेत्रमा निर्भर रहेको तथ्याङ्कले नेपालको अर्थतन्त्र कृषिमा निर्भर रहेको स्पष्ट हुन्छ । तथापि नेपालको कृषि क्षेत्र विशेष रुपमा मनसुनी वर्षामा निर्भर रहेको र जलवायू परिर्वतनका कारण हुने अतिवर्षा, आँधीबेहरी, असिनापात, खडेरी, बाढी, तापलहर, शितलहर आदि जस्ता जलवायू जन्य प्रकोपबाट कृषि उत्पादनमा नकारात्मक असर परि खाद्य सुरक्षामा चुनौती सिर्जना भएको देखिन्छ । यसकारण माटो, पानी र मौसमको पूर्व जानकारीको समुचित प्रयोगले प्रतिकूल मौसमका असरहरु न्यूनीकरण गर्नका साथै उपयुक्त मौसमबाट फाइदा लिनुपर्ने आजको गहन आवश्यकता हो । साथै अन्तरराष्ट्रीय स्तरका अनुसन्धनात्मक संस्थाहरुले उल्लेख गरे अनुसार जलवायू परिवर्तनको नकारात्मक असर परिरहेका र पर्न सक्ने देशहरुको सूचीमा नेपाल चौथो स्थानमा पर्छ । मनसुनी हावापानीको प्रभावमा हुने अतिवृष्टि तथा अनावृष्टि, अस्थिर भौगर्भिक बनोट, विकासका पूर्वाधारहरुको कमी, कृषिमा निर्भर अर्थ व्यवस्था आदि कारणले गर्दा जलवायू परिवर्तनको सन्दर्भमा नेपाल बढी प्रभावित हुन पुगेको छ । जलवायू परिवर्तनले हुन सक्ने दुष्प्रभावका कारण नेपालले विश्व समुदाय समेतको सहानुभूति प्राप्त गरेको छ । यस सन्दर्भमा नेपालले प्रस्तुत गरेको राष्ट्रीय तथा अन्तरराष्ट्रीय भूमिका समेतका आधारमा ई.सं.२००९ मा जलवायू समुत्थान सम्बन्धी परिक्षण कार्यक्रम (Pilot Program on Climate Resilience) संचालन गर्न छानिएका नौं देशहरु मध्ये नेपाल पनि एउटा हो । यो कार्यक्रम जलवायू लगानी कोष (Climate Investment Fund), विश्व बैंक तथा एसियाली विकास बैंक अन्तरराष्ट्रीय वित्तीय संस्थाको बहुपक्षीय सहयोगमा संचालन भइरहेको छ ।